बर्दिवास, ५ मङ्सिर/ महोत्तरी जिल्लाको बर्दिवास-जलेश्वर सडकको बहेडाचौकस्थित कर्ल्भर्टको पानीको निकास थुनिएपछि कोल्हुवा बगिया गाविस, वडा नं. ८ को ५० बिघाभन्दा बढी क्षेत्रफलको धानबाली डुबेर किसान मर्कामा परेका छन् । रातुखोलाबाट आएको पानी निकास हुने सो कर्ल्भर्टको मुख बहेडाचौकका व्यापारीहरूले दुइतर्फी नाला बनाउनुपर्ने माग राख्दै थुनिदिएपछि पानी धानखेतमा जमेर धानखेती डुबेको हो । सो क्षेत्रका किसान चन्देश्वर पाण्डेले पाकिसकेको धानबाली भएको खेतमा पानी जमेपछि आफूलगायतका थुपै्र किसान मर्कामा परेको बताउँदै पानी निकासका लागि कर्ल्भर्टको मुख खोलिदिन प्रहरी प्रशासन गुहारे पनि हालसम्म समस्या समाधान नभएको बताउनुभयो ।
यता कर्ल्भर्टको मुख थुन्नेमध्येका व्यापारीहरू र बहेडाचौकवासीले भने कर्ल्भर्टबाट आएको पानीले आफ्नो बस्तीको घरआँगन डुबाउने गरेकाले पानी निकासका लागि नालाको माग गर्दै कर्ल्भर्टको मुख थुन्न आफूहरू बाध्य भएको बताएका छन् । बस्तीसँगै जोडिएको जिल्लाकै मुख्य सडकमा पर्ने सो कर्ल्भर्टको मुख थुन्दा किसान मर्कामा परेका र खोल्दा बस्तीमा पानी बस्ने भएपछि त्यसको उपयुक्त निकास नाला नै हुनुपर्ने त्यहाँका बासिन्दाको माग रहेको बहेडाचौकका व्यापारी गोपाल साहले बताउनुभयो । सो ठाउँको समस्या निराकरणका लागि दुइतर्फी छलफल भइरहेको र चाँडै टुङ्गो लगाइने प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले जानकारी दिनुभयो ।