धादिङ, ५ मङ्सिर/ काठमाडौँ जिल्लाको स्युचाटार निवासी निर्मल पन्त र पुष्कर डङ्गोलको हत्यारालाई पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न नेपाल तरुण दल, धादिङ र नेपाली काङ्गे्रस, ३ नं. क्षेत्रीय समिति, धादिङले सरकारसँग माग गरेको छ । गत कात्तिक ४ गते मलेखुबाट अपहरणमा परेका २४ बर्षिय पन्त र २२ बर्षिय डङ्गोलको लास एक महिनापछि मङ्सिर ३ गते प्रहरीले अधिकारकर्मीहरूको रोहवरमा पिडा गाविस, वडा नं. ३ स्थित दरिगालखोला भोर्लेफाँटको बगरमा उत्खनन् गरी सडेगलेको अवस्थामा बरामद गरेको थियो ।
नेपाल तरुण दल, धादिङले हिजो एक प्रेस विज्ञप्ति प्रकाशित गरी घटनाको घोर निन्दा गर्दै सो हत्या वाइसिएलले गरेको हुँदा दोषीमाथि कारबाही गर्न र पीडित पक्षलाई क्षतपुर्ति दिन माग गरेको छ । यसैगरी नेपाली काङ्ग्रेस, ३ नं. क्षेत्रीय समितिले प्रेस विज्ञप्तिमार्फत् वाइसिएल र युथफोर्सबीचको भिडन्तको परिणामस्वरूप दुवैको हत्या भएकाले वाइसिएल र युथफोर्स दुवै खारेज गरी घटनाको छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरेको छ । अर्कोतर्फवाइसिएल, धादिङले पनि एक प्रेस विज्ञप्ति प्रकाशित सो घटनामा सङ्गठनको संलग्नता नरहेको जनाउँदै घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाई अपराधीलाई कानुनबमोजिम कारबाही गर्न सम्बन्धित पक्ष र सबैसँग आग्रह गरेको छ ।