५ मंसिर, सल्यान/ नेपाली कांग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसीले माओवादी लडाकुहरुलाई पाँचौं सुरक्षा अंगको रुपमा स्थापित गर्ने षडयन्त्र भईरहेको आरोप लगाउनुभएको छ । उहाँले माओबादी लडाकुलाई पाँचौं सुरक्षा अंगको रुपमा कांग्रेसले अस्विकार गर्ने बताउनुभयो । प्रेश युनियन सल्यान शाखाले आज सल्यानमा गरेको पत्रकार सम्मेलनमा वोल्दै प्रवक्ता केसिले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान भन्दा अर्को सुरक्षा अंग बनाएर माओवादी लडाकुको व्यवस्थापन गर्न नहुने बताउनुभयो । यदि सहमती विपरित त्यसो गरिए कांग्रेसले सदन र सडकबाट त्यस विरुद्ध आन्दोलन गर्ने केसीको चेतावनी थियो । उहाँले माओवादी लडाकुहरुलाई नेपाली सेनामा समायोजन गरे नेपाली सेना प्रदुषित भई भयानक दुर्घटनामा पुग्ने आशंका गर्नुभयो ।
माओवादीले भनेझै चार दललाई प्रमुख दल मान्न नसकिने भन्दै उहाँले प्रमुख दलको परिभाषा स्पष्ट नभएसम्म सेना समायोजन विषेश समितीमा कांग्रेस नजाने जानकारी दिनुभयो । कांग्रेस कुनैपनि हालतमा माओवादी नेतृत्वको सरकारमा नजाने दोहोर्याउँदै केसिले माओवादीको सरकारमा कांग्रेस जानु आफ्नो चिहान आफै खन्नु सरह भएको बताउनुभयो । माओवादीले झुठको खेती गरेकोले जनतामाझ अहिले उ नाङ्गीदै गएको भन्दै उहाँले कांग्रेसलाई सरकारमा लगेर माओवादीले आफुलाई चोख्याउन खोजेको आरोप लगाउनुभयो । कांग्रेसका सहमहामन्त्रि समेत रहनुभएका केसिले आफ्नो पार्टि सविधान निर्माणमा प्रतिवद्ध भएको भन्दै प्रतिपक्षलाई माओवादीले दमन गरेर अघिबढे संविधान निर्माण प्रकृया ओझेलमा पर्ने चेतावनी दिनुभयो ।

