पर्सा,१६ मङ्सिर/ जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको अपराध नियन्त्रण तथा अनुसन्धान टोलीले जनतान्त्रिक तर्राई मुक्तिमोर्चा -ज्वालासिंह समूह निकट विद्यार्थी सङ्गठन तर्राई जनतान्त्रिक विद्यार्थी मुक्तिमोर्चाका महासचिव रामपुकार यादवलाई पक्राउ गरेको छ । प्रहरीले हिजो साँझ सिरहा जिल्लाको रामपुर गाविस, वडा नं. १ घर भई हाल वीरगञ्ज उपमहानगरपालिका, वडा नं. १३ रानीघाटमा डेरा गरी बस्ने २२ बर्षिय यादवलाई ना.३ख १७७३ नं.को अशोक ट्राभल्सको बसमा सवार भई जनकपुर्रतर्फ जान लाग्दा विभिन्न प्रमाणजन्य दस्तावेज तथा जनतान्त्रिक तर्राई मुक्तिमोर्चाका विभिन्न कागजातसहित पक्राउ गरेको थियो ।
पक्राउपछि यादवको डेराबाट जनतान्त्रिक तर्राई मुक्तिमोर्चाको कार्यक्रम विवरण लेखिएको कागजात थान-एक, फोटो एल्बम थान-६१, भूमिगत सङ्गठनको विभिन्न मितिमा गरिएको बैठक र निर्णयका कागजात थान-चार, मोबाइल थान-एक, सिमकार्ड थान-चारलगायतका सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्सा प्रहरी निरीक्षक केपी शर्माले बताउनुभयो ।

