१६ मंसिर, काठमाण्डौ/ सरकारले हालै भएका दुइवटा हत्याकाण्डाबारे छानविन गर्न छुट्टा-छुट्टै उच्चस्तरीय छानविन आयोग गठन गरेको छ । धादिङको मलेखुबाट अपहरण गरी हत्या गरिएको भनिएका काठमाडौँ जिल्ला स्युचाटार निवासी निर्मल पन्त र पुष्कर डङ्गोलका सम्बन्धमा तीन सदस्यीय न्यायिक जाँचबुझ आयोग गठन गरिएको छ । आयोगका अध्यक्षमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारी तथा सदस्यमा प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रप्रताप शाह र पुनरावेदन सरकारी वकिलको कार्यालय, पाटनका सहन्यायाधिवक्ता ऋषिराम दवाडी हुनुहुन्छ ।
सो घटनाका कारण र घटनामा संलग्न व्यक्तिका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीउपर कारबाही र पीडित पक्षलाई उचित राहत उपलब्ध गराउने सम्बन्धमा काम सुरु गरेको एक महिनाभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम सो आयोग गठन गरिएको गृह मन्त्रालयले हिजो जनाएको छ । यसैगरी ताहाचल निवासी आशीष मानन्धर र रितेश रौनियारको हत्यासम्बन्धमा सो घटनाका कारण र घटनामा संलग्न व्यक्तिहरूका बारेमा न्यायिक जाँचबुझ गरी सत्यतथ्य पत्ता लगाई दोषीउपर कारबाही सिफारिससहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्नेगरी सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम तीन सदस्यीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । सो आयोगका अध्यक्षमा पुनरावेदन अदालतका पूर्व न्यायाधीश बोधरीराज पाण्डे तथा सदस्यमा प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णप्रसाद श्रेष्ठ र सह-न्यायाधिवक्ता प्रेमराज कार्की हुनुहुन्छ ।