डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कालोपट्टी बाँधेर नारा जुलुससहित तूफानडाँडाबाट निकालिएको मोटरसाइकल र्यालीले जिल्ला प्रशासन कार्यालयमा पुगी ज्ञापनपत्र बुझाएको थियो ।
घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने, हत्याराको खोजी गरी कारबाही हुनुपर्ने, प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुनुपर्नेलगायतका मागसहितको सो ज्ञापनपत्र नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाका सचिव लालबहादुर ऐरीले प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायलाई बुझाउनुभएको थियो । सो टोलीमा जिल्लास्थित सञ्चारकर्मी, मानवअधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।