सान जोसे, १ मङ्सिर/ चिनिया राष्ट्रपति हु जिन्ताओ कोस्टारिकाको भ्रमणका लागि आज राजधानी सान जोसे आइपुग्नु भएको छ । कोस्टारिकाको भ्रमण गर्ने राष्ट्रपति जिन्ताओ सबैभन्दा उच्च चिनियाँ अधिकारी हुनुहुन्छ । सोमबार राष्ट्रपति हुले कोस्टारिकाका राष्ट्रपति ओस्कार आरियाजसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । गतवर्षराष्ट्रपति आरियाजले चीनको भ्रमण गर्नुभएको थियो । दुई देशबीच विभिन्न ११ वटा सहयोग सम्झौताहरुमा हस्ताक्षर हुनुका साथै स्वतन्त्र ब्यापार सम्झौतामा वार्ता हुने अपेक्षा गरिएको छ ।
वासिङगनमा सम्पन्न समूह-२० को शिखर बैठक सम्पन्न भए लगत्तै चिनियाँ राष्ट्रपति हु राजधानी सान जोसे पुग्नु भएको हो । राष्ट्रपति हुको भ्रमणदलमा चिनिया कम्युनिष्ट पार्टीका अधिकारीहरू तथा ब्यापारीहरू पनि सम्मिलित छन् । कम्प्युटरसम्बन्धी सामग्रीको मुख्य निर्यातक राष्ट्र कोस्टारिकाले चीनसँग स्वतन्त्र ब्यापार सम्झौताका विषयमा वार्ता गर्ने तयारी गरिरहेको त्यहाँका ब्यापार मन्त्री मार्को भिनिसिओ रुइजले जानकारी दिनुभयो ।