काबुल, १ मङ्सिर/ पुर्वी अफगानिस्तानमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको सैन्य कारवाहीमा अल- कायदाका पाँच लडाकूको मृत्यु भएको छ । अमेरिकी सेनाद्वारा प्रकाशित एक विज्ञप्तिमा त्यस आक्रमणपछि गठबन्धन सेनाले एक बिद्रोहि नेतासहित अन्य आठ जनालाई नियन्त्रणमा लिएको उल्लेख गरिएको छ । त्यस्तै दक्षिणी अफगानिस्तानमा भएको सडक छेऊ भएको अर्को एक छुट्टै बम विष्फोटमा नेटोसम्बद्ध एक सैनिकको मृत्यु भएको छ । यस्तै देशको दक्षिणी प्रान्तमा भएको गोली हानाहानको अर्को एक घटनामा थप पाँच बिद्रोहिको मृत्यु भएको छ ।
गठबन्धन सेनाद्वारा प्रकाशित त्यस विज्ञप्तिमा पक्राऊ परेका ती अल- कायदासम्बद्ध बिद्रोहि नेतामाथि अरबलगायत अन्य विदेशी लडाकूहरूलाई तालिम दिंदै आएको आरोप लगाइएको छ । पक्राऊ परेका ती बिद्रोहि नेताको परिचय त्यस विज्ञप्तिमा खुलाइएको छैन । गठबन्धन र अफगान सेनाको संयुक्त प्रयासमा पुर्वी खोस्त प्रान्तमा अर्का एक बिद्रोहि नेता पक्राउ परेको जनाइएको छ ।

