मिरानशाह, -पाकिस्तान, ४ मङ्सिर/ अफगान सीमा नजिकै उत्तरपश्चिमी पाकिस्तानमा भएको एक क्षेप्यास्त्र हमलामा दुइ विदेशीसहित पाँच व्यक्तिको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बुधबार बताएका छन् । ती क्षेप्यास्त्रहरु चालकरहित अमेरिकी विमानहरुद्वारा खसालिएको ठानिएको छ । अल कायदा लडाकुहरुको सुरक्षित आश्रय मानिएको अप्ठेरोमा आदिवासी भू-भागहरुबाहिर अमेरिकी क्षेप्यास्त्र हमला भएको यो पहिलो अवसर हो । लक्ष्य बनाइएको घर उत्तरपश्चिम बान्नु जिल्लामा पर्दछ जुन अफगान सिमानासँग जोडिएको छ । स्थानीय अधिकारीहरका अनुसार यो क्षेप्यास्त्र हमलामा अन्य सात जना घाइते भएका छन् । मारिनेहरुमा कम्तीमा दुइ जना विदेशी नागरिकहरु छन् । अल कायदा लडाकूहरुलाई संकेत गर्न पाकिस्तानी अधिकारीहरुले विदेशीको संज्ञा दिने गर्छन ।