जेरुसलेम, ५ मङ्सिर/ इजरायली प्रधानमन्त्री एहूद ओर्ल्मर्ट र प्रतिरक्षा मन्त्री एहुद बाराक मङ्गलबार जोर्डनको गोप्य भ्रमण गरी नरेश अब्दुल्ला द्वितीयसँग भेटेको इजरायली सरकारी रेडियोले जनाएको छ । भेटका बेला नरेशले इजरायली नेताहरुसँग गाजा पट्टिमा ठूलो खालको सैनिक कार्वाही नगर्न आग्रह गर्नु भएको उक्त रेडियोले जनाएको छ । गाजामा इजरायलले लगाइआएको नाकाबन्दीको विरोध गर्दै बुधबार राजधानी अम्मानमा करिब एक हजार व्यक्तिले प्रदर्शन गरेका थिए । सो रेडियोको अनुसार नरेश अब्दुल्लाले यो भेटको मौकालाई आफ्नो मुलुकमा विपत्ति आइलाग्न सक्ने किसिमको मूठभेडमा नउत्रने सल्लाह दिन प्रयोग गर्नुभएको थियो । जोर्डनमा थुप्रै आप्रवासी प्यालेष्टिनीहरु बसोबास गर्दै आएका छन् । हमासले सन् २००७ को जुनमा सत्ता चलाए यता इजरायल सरकारले गाजा पट्टिमा नाकाबन्दी लगाउँदै आएको छ ।
