पोखरा, ११ मङ्सिर/ पोखरा उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा यही मङ्सिर १२ देखि २२ गतेसम्म यहाँ हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको सम्पुर्ण तयारी पूरा भइसकेको छ । सङ्घद्वारा हिजो यहाँ आयोजित पत्रकार सम्मेलनमा सो मेलामा मेचीदेखि महाकालीसम्मका साथै छिमेकी मुलुकका उत्पादन, सूचना प्रविधि, अटो उत्पादन, दैनिक उपभोग्य वस्तु, कृषि उत्पादन, हस्तकला, पुष्प प्रदर्शनी एवम् रेष्टुरेन्ट एवम् वित्तीय संस्थाहरूको सेवालगायतका ३०२ वटा स्टल बुकिङ भइसकेको जानकारी गराइयो । साथै मेलामा बाल उद्यान, रत्यौली, विद्यालयस्तरीय नृत्य, एकल नृत्य, दोहोरी गीत प्रतियोगिता, हास्य प्रहसन र ख्याति प्राप्त पप गायकहरूको प्रस्तुति रहने छ ।
सो मेलाको करिब दुई लाख दर्शकले अवलोकन गर्ने विश्वास सङ्घले लिएको छ । मेलामा टिकट बिक्री र स्टल भाडावापत करिब रु .४६ लाख ७९ हजार आम्दानी हुने लक्ष राखिएको छ । टिकट बिक्रीबाट प्राप्त हुने रकममध्ये एक रूपैयाँ सङ्घद्वारा सञ्चालित बाल श्रम न्यूनीकरण कार्यक्रम र दुई रूपैयाँ दमकल खरिदको लागि छुटाउनेछ । यसअघिका दुई वटा मेलाबाट दमकल खरिदका लागि रु .चार लाख छुटाइसकिएको छ । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष मानकाजी माकाजूले मेलाका गतिविधिमाथि प्रकाश पार्नुभयो ।

