पोखरा, ११ मंसिर/एमाले महासचिव झलनाथ खनालले माओवादीले जनगणतन्त्रका कुरा उर्ठाई संविधान निर्माण प्रक्रियालाई ढिलाई गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले जनगणतन्त्र कुरा अगाडि बर्ढाई संविधान निर्माणलाई ओझेलमा पारेको वताउनुभयो । उहाँले जनगणतन्त्रको नाराले दक्षिणपन्थलाई सहयोग पुग्ने दावी गर्दै शान्तिपुर्ण जनक्रान्तिका उपलव्धीहरुलाई संस्थागत गर्न माओवादीले आनाकानी गरेको बताउनुभयो । माओवादीले जनक्रान्तिका उपलब्धीलाई बिर्सेर जनगणतन्तको नाराबाजी गरेको छ । उहाँले भन्नुभयो-जनगणतन्त्रले दक्षिणपन्थीलाई सहयोग पुर्याउँछ ।
हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्दैछौं पोखरामा वुधवार आयोजित गण्डकी अंचलस्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भन्नुभयो-तर माओवादीहरु जनगणतन्त्र ल्याउन खोज्दैछन, यसले दक्षिणपन्थलाई सघाउनेछ । उहाँले माओवादीले जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक गणतन्त्र थोत्रो भईसक्यो भन्दै जनगणतन्त्र ल्याउन खोजेको दावी गर्नुभयो । माओवादीले राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएपछि कांग्रेसलाई मुख्य शत्रु ठानेर भूल गरिरहेका बताउँदै महासचिव खनालले भन्नुभयो-माओवादीहरु राजापछि कांग्रेसलाई मुख्य निशाना वनाउनुपर्छ भनिरहेका छन।
कांग्रेसपनि परिवर्तनकारी मित्र सहयोगी शक्ति भएको स्पष्ट पार्दै उहाँले काँग्रेसप्रति माओवादीको वुझाई गलत रहेको टिप्पणी गर्नुभयो । उहाँले सामन्तवाद उन्मुलन गर्न सहयोगी शक्तिहरुको पहिचान गरी एकतावद्व भएर लाग्नुपर्नेमा जोड दिदै सो कार्यदिशामा कांग्रेस हिडेसम्म उपयोग गर्दै जानुपर्ने बताउनुभयो ।

