पोखरा, १६ मंसिर/नेपाली काँग्रेसका नेताहरुले पार्टीभित्र सिण्डिकेट प्रथा हावी भएको उल्लेख गर्दै आफैंभित्रबाट आचरणमा सुधार ल्याउनुपर्ने खाँचो औंल्याएका छन् । पार्टीभित्रको सिण्डिकेटले नेतृत्व तह अधिनायकवाद तर्फउन्मुख हुदैं गएको गुनासो समेत नेता तथा कार्यकताले गरेका छन् । काँग्रेस पार्टीभित्र सिण्डिकेट छ । नेपाली काँग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले भन्नुभयो -सिण्डिकेटले नेतृत्व तहमा अधिनायकवाद हावी हुदैं गएको छ । पोखरामा सोमबार आयोजित लोकतान्त्रिक संविधानका आधारभूत सिद्धान्त र राज्यको पुन संरचना विषयका दुइदिने कार्यशाला गोष्ठीमा आउनुभएका प्रवक्ता केसीले नेतृत्व तहमा देखिएको अधिनायकवादले तल्ला नेता तथा कार्यकर्ताहरु कायरता बन्दै गएको तितो यथार्थ सुनाउनुभयो ।
काँग्रेसमा कायरता र अधिनायकवाद प्रवृत्ति छ । उहाँले भन्नुभयो-यस्तो अवस्थाबाट मुक्त गराउन आफैंमा परिवर्तन आउनुपर्छ । माथिल्लो नेतृत्व पंक्ति अगाडि कायरता देखाउँदै र्समर्थन जनाउने कार्यले अधिनायकवाद प्रवृत्ति हावी हुदैं गएको उहाँले बताउनुभयो । कायरताले माओवादीसित बैचारिक प्रतिस्पर्धा गर्न नसकिने उहाँको भनाई थियो । काँग्रेसलाई आत्म निर्णयको अधिकार स्वीकार्य भएपनि मुलुकका अखंडता विरुद्धको आत्म निर्णयकोअधिकार स्वीकार्य नहुने जिकिर गर्नुभयो । एक मधेश एक प्रदेश काँग्रेसले स्वीकार गर्न सक्दैन् । उहाँको भनाई थियो । माओवादीले उठाएको जनगणतन्त्र विश्वमा आफुले कतै नदेखेको बताउँदै प्रवक्ता केसीले लोकतन्त्र विरुद्ध कसैसित सम्झौता गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले नेपाली काँग्रेसको बैचारिक प्रतिस्पर्धा माओवादीसित भएको उल्लेख गर्दै प्रादेशिक संरचना निर्माणमा नेपाली काँग्रेस गम्भीर हुनुपर्ने खाँचो औल्याउनुभयो । पुनसंरचनाको लागि मानसिक रुपमा तयार हुनुपर्नेमा उहाँको जोडथियो । नेपाली काँग्रेसले भौगोलिक, राजनीतिक आर्थिक सास्कृति जातिय, भाषिक आधारमा राज्यको पुनसंरचना गर्नुपर्ने जोडदिएको बताँउदै आचार्यले प्रादेशिक संरचनाको विषयलाई व्यवस्थित गर्न नसकिए तर्राईमा जस्तै पहाडमा पनि उप समुह जन्मने चेतावनी दिनुभयो । काँग्रेसका अर्का नेता डा प्रकाशशरण महत, सभासद गगन थापा लगायतले संघीयताको आधार हुने भन्ने विषयमा काँग्रेसभित्र बहस गर्नुपर्ने आवश्यकतामाथि जोडदिनुभएको थियो ।