पोखरा, १६ मंसिर/तेस्रो लिङ्गी व्युटि एण्ड ब्रेनको ताज राजधानीकी सन्ध्या लामा पहिरिएकी छिन् । ताज पहिरिएकी लामालाई एचआइभी/एड्सको केन्द्रीय दूत घोषित गरिएको छ । निलहीरा समाज काठमाडौं र नौलो विहान पोखराको आयोजनामा तेस्रो लिङ्गीको प्रतिभा र समाजमा आउन प्रेरित गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पाँचै विकास क्षेत्रबाट एचआइभी/एड्स क्षेत्रीय दूत चयन गरिएको छ । यदी तपाइ सभासद भएको भए तेस्रो लिङ्गीको हकअधिकारको लागि संविधानमा लेख्न कस्तो पहल गर्नुहुन्थ्यो - निर्णायकको प्रश्नमा लामाले बुदाँगत रुपमा शिक्षा, स्वास्थ्य, रोजगारी, पहिचानको लागि अरु नागरिक सरह नागरिकता, बैदेशिक रोजगारीको अवसर लगायतका कुराहरु समावेश गर्ने सटिक उत्तर दिदैं व्युटि एण्ड ब्रेनको ताज सिउरिएकी हुन् ।
पोखराको सभागृह हलमा निकै रौनकपुर्ण बातावरणमा सम्पन्न १५ जना प्रतिस्पर्धाबाट करुणा अधिकारी-सुदुर पश्चिमाञ्चल, काजोल चौधरी-मध्यपश्चिमाञ्चल, श्रेया थापा-पश्चिमाञ्चल, सुहानीराज धामी-पुर्वाञ्चल र ज्योति थापा-मध्यामाञ्चल एचआइभी/एड्स दूत घोषित गरिएको हो । उनीहरु सबैलाई सभासद सुनिलबावु पन्तले पुरस्कार प्रदान गर्नुभएको थियो । ताज पहिरिएपछि लामाले तेस्रो लिङ्गीलाई समाज बाहिर आउन अग्रसर गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने भन्दै एचआइभी/एड्सको लागि गाँउ गाँउमा चेतना अभिबृद्धि गर्ने बताइन् । उनले आफनो जित सम्पुर्ण तेस्रो लिङ्गीको जित भएको उल्लेख गर्दै एचआइभीको क्षेत्रमा अझ बढी काम गर्नुपर्ने दायित्व थपिएको जानकारी दिइन् ।
फरक माहोलमा सम्पन्न प्रतियोगितामा बीच बीचमा प्रस्तुत हट डान्सले दर्शकलाई चिसोबाट भने मुक्त गरिएको थियो । तेस्रो लिङ्गी कलाकार विनिता शाहीको रिमिक्स गीत चियाबारीमा हट नृत्यले निरन्तर ताली र सिठ्ठी फुक्न आतुर बनेका पोखरेलीले उनकै हिन्दी गीतको अर्को नृत्य हेर्दै शान्त बनेका थिए । प्रतिस्पर्धीहरु विभिन्न पहिरनमा सजिएर र्याम्पमा उत्रदाँ आफुलाई मनपर्ने तेस्रो लिङ्गीको तालीले र्समर्थन गर्न युवापुस्ता पछि परेनन् । प्रतियोगितामा पाँचै विकास क्षेत्रबाट ३/३ जना गरी १५ जनाको सहभागिता रहेको थियो । पाँचै विकास क्षेत्रमा छनोट भएकाहरुलाई अन्तिम प्रतिस्पर्धाको रुपमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा सभासद पन्तले नौलो विहानी पोखराका अध्यक्ष रजनी थकालीलाई विशेष सम्मान गर्नुभएको थियो ।