पोखरा, १० भदौ/आयोजकको दोस्रो टोली आदर्श एकेडेमीले क्वार्टरफाइनलमा आफनो स्थान पक्का गर्न मंगलबार रामघाट व्वाइज क्लब बीलाई टाइब्रकेरमा ५-४ ले पराजित गरेको छ ।महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा आदर्श युवा क्लब भण्डारढीकको आयोजनामा सञ्चालित २१ औं आमन्त्रण क्लबस्तरीय नकाउट फुटबल प्रतियोगिता अर्न्तर्गत मंगलबारको खेलमा आयोजकले निर्धारित समयमै विजयी नतिजा ल्याउन कठिनाई भोगेपछि अतिरिक्त समयहुदै टाइब्रेकरमा पुगेको थियो । खेल टुंगिन केवल ३ मिनेट बाँकी रहदाँ रामघाटले बराबरी गोल गरेपछि खेल थप समयतर्फधकेलिएको थियो ।
स्थानीय भण्डारढीकस्थित प्रस्तावित रंगशालामा भएको प्रतिस्पर्धामा रामघाट बीलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउँदा आयोजकको पहिलो टोली ए पनि क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ । खेल शुरुभएको १५ औ मिनेटमा राजकुमार तामाङको गोलबाट अग्रता लिएको आयोजक आदर्श एकेडेमीले अन्तिम समयमा सम्हालिन नसक्दा रामघाटले बराबरी गोल गरेको थियो । खेलसकिन केवल तीनमिनेट मात्रै बाँकी रहेको अवस्थामा एकेडेमीका रक्षक होमबहादुर रसाइलीले रामघाटका खेलाडीलाई पेनाल्टीबक्सभित्र लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याउँदै रोमाञ्चक बनाएका थिए । रामघाटका विजय गुरुङले पेनाल्टीलाई खेर नफालि गोलमा परिणत गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रकेरमा टुंगिएको थियो ।
घरेलु टोलीको प्रतिस्पर्धा भएपछि उल्लेख्य दर्शकको सहभागिता रहेको मंगलबारको खेलमा आयोजक एकेडेमीका लागि राजकुमार तामाङ, सुजन गुरुङ, सुवास तामाङ, अच्छा गुरुङ र सन्जय गुरुङले हानेको प्रहार गोलमा परिणत भएको थियो । उता रामघाट बीका लागि भूमि गुरुङ, लाल राना, विजय गुरुङ र इच्छा गुरुङको प्रहार सदुपयोग भएपनि कप्तान सुजन आलेको प्रहार विपक्षी गोलकिपरले बचाउ गर्दा प्रतियोगिताबाट विदाई हुनुपरेको थियो ।
दिनभरीजसो नै परेको सिमसिमे पानीले चिप्लो बनेको मैदानमा खेलाडीहरुले सन्तुलन कायम गर्न निकै कठिनाई भएपनि हेर्न दर्शकले भने मंगलबारको खेलबाट पुर्ण मनोरन्जन लिएका थिए । दुवै टोलीको खुट्टामा बल बराबरी समय रहदाँ स्थानीय दर्शकले घरेलु टोलीलाई हौस्याएका थिए । घरेलु दर्शकको हुटिङ पाएको आयोजक एकेडेमीले टाइब्रेकरमा कुनै खेर नफाली सदुपयोग गर्दै इच्छा पुरा गरिदिएका थिए । स्थानीय प्रतियोगितामा मात्रै सीमित हुने आयोजकको एकेडेमी आमन्त्रण कपमा सहभागि भएको यो सम्भवत दोस्रो पटक हो । बुधबारको खेल भने पोखरा विश्वविद्यालय र हैरान्स क्लब दमौली बीच हुने छ ।
