पोखरा, १ मंसिर/पोखराको प्रतिष्ठिट फुटबल प्रतियोगिता आहा गोल्डकपको सातौं सस्करण माघको दोस्रो सातादेखि हुने भएको छ । फुटबलमा देखिएको विवादले नकारात्मक असर परेको फुटबल जगतमा मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताले तिक्तता मेटाउन प्रयास गर्ने अनुमान खेलप्रेमीले गरेका छन् । नेपाली फुटबलको सर्वोच्च संस्था एन्फामा देखिएको विवादले लामो समयदेखि राष्ट्रियस्तरको फुटबल प्रतियोगिताले निरन्तरता पाउन सकेको छैन् । घरेलु टोलीले राष्ट्रियस्तरको प्रतियोगितामा आफनो उपस्थिति जनाउन नपाएको बर्तमान अवस्थामा सहारा क्लबको आयोजनामा आउँदो माघ १४ गतेदेखि हुने सातौं आहा गोल्डकपमा उनीहरुले प्रतिस्पर्धा गर्न पाउने छन् । राष्ट्रिय ए डिभिजनका क्लबले राष्ट्रियस्तरका अन्यक्लबसँगै भारत, बंगलादेश र सहारा फुटबल क्लब युकेसित प्रतिस्पर्धा गर्ने छन् ।
माघ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभागिय टोलीहरु, ए डिभिजनका क्लबहरु, भारत, बंगलादेश र सहारा एफसी युके, पर्ुवाञ्चल र पश्चिमाञ्चल सहित आयोजक गरी १२ टोलीको सहभागिता रहने प्रारम्भिक पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विक्रम थकालीले जानकारी दिनुभयो । फुटबल सेलाएको अवस्थामा गोल्डकपले उर्जा पैदा गर्ने विश्वास लिइएको छ । उहाँले भन्नुभयो । सातौं सस्करणमा प्रतियोगिताको पुरस्कारको राशीमा पनि बृद्धि हुने निश्चित भएको छ । पुरस्कारको राशीमा बृद्धि गर्न सहारा एफसी युकेले ५० हजार रुपियाँ आर्थिक सहयोग दिइसकेको छ । सम्भवत पुरस्कारको राशी क्रमश विजेता र उपविजेताले १ लाख २५ हजार र ७५ हजार रुपियाँ पाउने छन् । पुरस्कारको राशी बढ्छ । पत्रकार सम्मेलनमा अध्यक्ष थकालीले भन्नुभयो-तर निश्चित भइसकेको छैन् । बैठक बसेर निर्णय गर्ने छौं । छैटौं आहामा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपियाँ नगद पुरस्कार पाएका थिए ।
पुरस्कारको राशीमा बृद्धि पछि आहा गोल्डकप मोफसलको र्सवाधिक पुरस्कार राशी भएको प्रतियोगिताको रुपमा समेत परिचित हुने छ । सहारा एफसी युकेले पुरस्कारको राशीसँगै गोल्डकपका ११ खेलको लागि म्यान अफ दि म्याचको पुरस्कार समेत प्रायोजन गरेको छ । त्यसो त युकेले मोरङ अटोवर्क्ससितको सहकार्यमा उत्कृष्ट खेलाडीलाई मोटरसाइकलको प्रायोजन समेत गरेको सोही अवसरमा जानकारी दिइयो । सहारा क्लबको आयोजना, हिमश्री फुड्सको मुख्य प्रायोजन, पोखरा उपमहानगरपालिकाको संयोजन तथा राष्ट्रिय खेलकुद परिषद र एन्फाको विशेष सहयोगमा सञ्चालन हुने आहा गोल्डकपको आवश्यक तयारी शुरु गरिएको छ । क्लबले पोखरा रंगशालाको फुटबल मैदान मर्मत सम्भारमा जुटेको छ ।
गोल्डकपबाट बचत रकम क्लबद्वारा सञ्चालित अनाथ बाल खेलाडीहरुको लागि खर्च गर्दै आएको छ । सातौं आहा गोल्डकपबाट बचत रकमले पोखराको रातो पैरोमा २६ रोपनी क्षेत्रफलमा सहारा एकेडेमीको लागि आवश्यक भौतिक पुर्वाधार तयार पार्न खर्च गरिने बताइएको छ । गतवर्षो उपाधि नेपाल पुलिसक्लबले उचाल्दा अर्को विभागिय टोली शसस्त्र उपविजेता बनेको थियो । पत्रकार सम्मेलनमा उपाध्यक्ष र सचिव क्रमश केशवराज बराल र केशवबहादुर थापाले प्रतियोगिताको बारेमा थप प्रष्टयाउनुभएको थियो ।

