३ मङ्सिर,काठमाडौं/ उमेरमा कडिकडाउ गर्दै नेपालले आगामी फेब्रुअरी ४-१३ सम्म काठमाडौंमा हुने एसीसी यु-१७ इलाइट कप क्रिकेट प्रतियोगिताका लागि खेलाडी चयन गरेको छ। बन्द प्रशिक्षणका लागि गरिएको छनोटमा पृथु बाँस्कोटा, प्रदीप ऐरी, सागर पुन, कृष्ण कार्की, रोचक भट्ट, निश्चल चौधरी, आकाशसिंह परियार, प्रतीक सिंह, उज्ज्वल थापा, अमनदीप सिंह, सहनवाज अली, आयुष राणा, आदित्य श्रेष्ठ, निर्मल थापा, कृतेन गुरुङ, नवराज शाही, अविनाश कर्णपवन श्रेष्ठ, अमनबहादुर थापा, भुवन कार्की, विवेक दली, प्रवेशबहादुर सिंह, समीर नेपाल र कृष्ण सेन रहेका छन् भने वैकल्पिक खेलाडीमा निर्मल रोका, समिम अख्तर, सुमितचन्द्र देव, राकेश बर्रइ, सुनील सुनुवार र कुनैन रैन रहेका छन्।
डाक्टरको उमेर परीक्षण रिपोर्टपछि छनोट समितिले खेलाडी छनोट गरेको थियो। उमेर परीक्षण रिपोर्टमा हालै सम्पन्न बुस्ट यु-१७ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी ८४ मध्ये २१ खेलाडी तोकिएकै उमेरको तथा अन्य ९ खेलाडी बोर्डर लाइनमा रहेको पाइएको बताइएको छ। बन्द प्रशिक्षणमा रहेका खेलाडीले बंगलादेशको यु-१७ टिमसँग नोभेम्बर २३, २४ र २६ मा गरी तीन एकदिवसीय खेल तथा २८ र २९ मा दुइदिवसीय खेल खेल्नेछन्। बंगलादेशको टिम शुक्रबार नेपाल आउँदै छ।