पोखरा, १३ मंसिर/पोखरा रंगशालामा अर्को शनिबार खुल्ला हाफ म्याराथन प्रतियोगिता शुरु हुने भएको छ । प्राकृतिक प्रकोपको पुर्व तयारी हामी सबैको जिम्मेवारी भन्ने मुल उद्देश्यका साथ संयुक्त राष्ट्रय संघीय विकास कार्यक्रम नेपाल र युरोपियन नियोगको मानवीय सहयता विभागको आर्थिक सहयोगमा सामुदायिक सेवाकेन्द्र माटेपानीको आयोजनामा आउँदो शनिबार हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको हो । खेलकुदको माध्यमबाट प्रकृति प्रकोप सम्बन्धी जनचेतना जगाउने उद्देश्यले हाफ पोखरा म्याराथन आयोजनाको तयारीमा जुटेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेवाकेन्द्र माटेपानीका अध्यक्ष रामकृष्ण बास्तोलाले जानकारी दिनुभयो । उहाँले हाफ म्याराथन प्रतियोगतामा राष्ट्रिय तथा स्थानीय व्यवसायिक धावकहरुको सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगिता संयोजकसंयोजक गजबहादुर गुरुङले खुल्ला हाफ म्याराथनसँगै १० किलोमिटर विद्यालयस्तरीय छात्र खुल्ला, विद्यालयस्तरीय ५ किलोमिटर खुल्ला छात्रा र १५ सय मिटर हृवील चियर दौड लगायतका इभेण्टमा प्रतिस्पर्धा गराइने जानकारी दिनुभयो । पोखरा रंगशालाबाट शुरुहुने हाफ म्याराथन पृथ्वीचोक, एयरपोर्ट, विरौटाचोक, शहीदचोक, हल्लनचोक, जिरोकिलोमिटर, विन्ध्यवासिनी मन्दिर, पृथ्वीनारायण क्याम्पस, भीमसेनचोक, रानीपौवा, गौंडाको मुखहुदै अमरसिंहचोक र अन्तमा रंगशालमा आएर टुंगिने रुट तयार निर्धारण गरिएको छ । पत्रकार सम्मेलनमा संयोजक गुरुङले विद्यालयस्तरीय छात्र/छात्रा दौड प्रतियोगितामा विद्यालयको सिफारिस अनिवार्य आवश्यकता रहने बताउनुभयो ।
विद्यालयको सिफारिस विना विद्यार्थीको सहभागिता गराइदैन् । उहाँले भन्नुभयो-सहभागि विद्यार्थीले अनिवार्य सिफारिस ल्याउनुपर्छ । खुल्ला हृवील चियर प्रतियोगिता भने पोखरा रंगशालाको ट्रयाकमा प्रतिस्पर्धा गराइने छ । म्याराथन विजेतालाई १२ हजार रुपियाँसहित पदक प्रदान गरिने छ । यसैगरी दोस्रोले ८ हजार, तेस्रोले५ हजार र सान्त्वना पुरस्कार स्वरुप ३ हजार रुपियाँ प्रदान गरिने छ । त्यस्तै १० किलोमिटर दौडका विजेतालाई पनि क्रमश ७, ५, ३ र सान्त्वनालाई २ हजार रुपियाँ नगदबाट पुरस्कृत गरिने छ । पाँचकिलोमिटर छात्रा तर्फो दौड विजेतालाई ५,३,२ र १ हजार रुपियाँ प्रदान गरिने छ । त्यस्तै हृवीलचियर विजेतालाई ७,५,३ र सान्त्वनालाई १ हजार रुपियाँ नगदबाट पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताको लागि राष्ट्रसंघीय विकास कार्यक्रमले १ लाख ९० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको कार्यक्रमका प्रतिनिधि दिनेश कोइरालाले जानकारी दिनुभयो । प्राकृतिक प्रकोप सम्बन्धीको जनचेतनाको कार्यक्रम राष्ट्रसंघीयको दशौं भएको बताउँदै उहाँले काठमाडौं र अन्यत्र क्षेत्रमा फुटबलसँगै लोकदोहोरी गीत प्रतियोगिता लगायतका कार्यक्रम गर्दै आएको बताउनुभयो ।