पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
फुङ्ग उडेको धुले मैदानमा भएको उक्त प्रतिस्पर्धामा नेपाल आदर्शका लागि मनोज गुरुङले दुवै गोल गरेका थिए । आवेग र प्रतिशोधको भावनाले मैदानमा उत्रिएका लोट्सले दोस्रो हाफपछि १० खेलाडीमा सीमित हुदैं खेल टुंग्याएको थियो । हारलाई स्वीकार्न धेरै कठिनाई हुन्छ तर जित्नको लागि मेहनत पनि गर्नुपर्छ यथार्थ विर्से विपक्षीमाथि दवाव सृजना गर्न 'रफ गेम' प्रस्तुत गरेपछि रेफ्रीले लोट्सका टेकेन्द्र गुरुङलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।
पहिलो हाफमै एक गोलले पछि परेको लोट्सले गोल फर्काउन मेहनत गरेपनि अधिकांश समय फल हानेरै विताएका थिए । पहेलों कार्ड अधिकांश खेलाडीले सामना गरेका थिए । खेलको ९ औं मिनेटमा मनोज गुरुङले गोल गर्दै अग्रता दिलाउँदा दोस्रो हाफको ११ औं मिनेटमा पनि उनले डिबक्स लाइनबाट गोल गर्दै नेपाल आर्दशलाई फाइनल यात्रा सुरक्षित बनाउन महत्वपुर्ण भूमिका निर्वाह गरे ।
प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत नै छात्र तर्फो भलिबल प्रतियोगितामा ज्ञानुबाबाले सरस्वती आर्दश विद्याश्रमलाई सोझो तीन सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छ । फाइनलमा ज्ञानुबाबाले उपाधिको लागि पोखरा पब्लिकसित खेल्ने छ । पोखरा पब्लिकले गोल्डेन फ्युचर बोर्डिङलाई अत्यन्तै प्रतिस्पर्धात्मक रुपमा ३-२ को सेटले पराजित गर्दै फाइनलमा प्रवेश पाएको थियो ।
त्यस्तै छात्रा तर्फो प्रतिस्पर्धामा फिस्टेल एकेडेमीले आफनो चिर प्रतिद्धन्द्धी ज्ञानुबाबालाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा आफनो स्थान पक्का गरेको छ । त्यस्तै टप्स बोर्डिङले मनकामना बोर्डिङलाई सोझो ३-० को सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । टप्सले आज मंगलबा फिस्टेलसित भलिबलको उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ ।