कालिकोट, १२ भदौ । गत सातादेखि परेको अविरल बर्साका कारण पहिरो जाँदा कालिकोटका विभिन्न ठाउँका ८०० घरपरिवार विस्थापित भई अन्यत्र बस्न बाध्य भएका छन् । बाढीपहिरोबाट धौलागाई र खिन गाविसमा गरी १०० घरका २०० परिवार विस्थापित भई स्कुलकोठामा बसेको खिन गाविसका टङ्क रोकायले जनाएका छन् । त्यस्तै बाढीपहिरोबाट मान्म गाविसको अस्थायी ट्राफिक पोस्टमा पहिरो गई कतिपय परिवार विस्थापित भएका छन् भने रणदल गुल्मसमेत जोखिमा पर्दा गुल्मका १०० सैनिक परिवार आफ्नो क्वाटर छाडेर विस्थापित भएका छन् । पछिल्लो समयमा फूर्कोट- ५ र ९ मा पहिरोबाट १२२ घरका ३०० परिवार जोखिममा परी स्कुलमा बसेको फूर्कोटका मणिराज बरालले जनाएका छन् ।
उता, मुग्राह गाविस र दोहा गाविसका ४५ परिवार तथा बदालकोट गाविस वडा नं. ४, ५ र ९ का १७ घरपरिवार पहिरोबाट विस्थापित भएका छन् । बाढीपहिरोले जिल्लाभरि ७०० रोपनी जमिनमा लगाइएको बालीसमेत नष्ट भएको छ भने हिँड्ने बाटाघाटामा पनि क्षति पुगेको छ । सुर्खेत-जुम्ला सडकखण्ड एक महिनादेखि अवरुद्ध हुँदा उपभोग्य सामग्री ढुवानी हुन नसकी कालिकोटमा खाद्यान्न सङ्कट भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, कालीकोटले बाढीपीडितका परिवारलाई लत्ताकपडा र भाँडावर्तन बाँड्न थालेको छ । उक्त शाखाका अनुसार १५० परिवारलाई राहत वितरण गरिसकिएको छ । त्यस्तै राहतका लागि बाढीपीडितहरुको निवेदन आउने क्रम बढ्न थालेको छ भने हालसम्म ८०० निवेदन आइसकेको जिल्ला प्रहरी कार्यालयको दावी छ । अवरुद्ध सडक निर्माणमा नेपाली सेनाको हेलचेक्रयाँइका कारण सडक भत्किन पुगेको स्थानीयवासीको गुनासो रहेको छ ।
