लमजुङ, १२ भदौ । गएरातिदेखि परेको अविरल वर्षाका कारण लमजुङको खुदी गाविसस्थित खुदी खोलामा आएको बाढीले एक घर बगाएको छ भने एकजना बेपत्ता छन् । बाढीले बगाउँदा धादिङ घर भई हाल खुदी बजारमा बस्दै आएका सीताराम तामाङ बेपत्ता भएका छन् । बाढीले धनपोखरा गाविस वडा नं. ८ सिमु्रङका लोकबहादुर गुरुङको घर पनि बगाएको छ । खुदी बजारमा बाढी पसेपछि त्यहाँका १२ परिवार पनि विस्थापित भएका छन् ।
वर्षाका कारण गएराति मध्यरातमा आएको बाढीले चार मेघावाटको खुदी जलविद्युत आयोजना पनि क्षतिग्रस्थ भएको छ । बाढीले आयोजनाको पेनस्टक पाइप बगाएको छ भने बाढी पावर हाउसमा समेत पसेपछि आयोजनाबाट विद्युत उत्पादन बन्द भएको आयोजनाका प्रमुख सुन्दर पौडेलले बताउनुभयो ।
त्यसक्षेत्रमा अझै पानी परिरहेकाले बाढी आउने थप सम्भावना देखिएपछि खुदी खोला आसपासका बासिन्दा सुरक्षित स्थान तर्फ र्सन थालेका छन् । घटनास्थलमा उद्धारका लागि इलाका प्रहरी कार्यालय, खुदीबाट टोली खटाइएको र विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ ।
