२९ अगष्ट, २००८
तालावन्दी तोड्ने प्रयासमा दोहोरो झडप, पत्रकारमाथि कुटपिट
पोखरान्युज डट कम डट एन्पी
दोलखा

१२ भदौ, दोलखा । दोलखाको चरिकोटमा रहेको गौरीसंकर बहुमुखि क्याम्पसमा आज विहान एमाले निकट अनेरास्ववियू र माओवादी निकट अखिल क्रान्तिकारी वीच झडप भएको छ । झडपको क्रममा एमालेको युथ फोर्सका कार्यकर्ताहरुले क्याम्पस हाता भित्रै गएर क्रान्तिकारी बिद्यार्थीहरु माथि सांघातिक आक्रमण समेत गरेका छन् ।

क्याम्पसमा अखिल क्रान्तिकारीले एक महिनाअघि गरेको तालावन्दी एमाले निकट बिद्यार्थीले तोड्ने प्रयास गरेपछि दोहोरो झडप भएको थियो । युथ फोर्स र एमाले अखिलको आक्रमणवाट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष अर्जुन योगी, जिल्ला सदस्य रामकुमार खड्का र सचिवालय सदस्य एवं अखिल क्रान्तिकारी गौरीसंकर बहुमुखि क्याम्पस ईकाईका अध्यक्ष सुव्वा श्रेष्ठ गम्भिर घाईते भएका छन् । योगि र श्रेष्ठको टाउको र अनुहारमा गम्भिर चोट लागेको छ भने खड्काको हात, खुट्टा र ढाडमा गहिरो चोट लागेको छ । उनीहरु सवैको स्थानीय च्छो रोल्पा अस्पतालमा उपचार भईरहेको छ । युथ फोर्सको आक्रमणवाट घाईते भएका अखिल क्रान्तिकारी गौरीसंकर बहुमुखी क्याम्पस ईकाई सदस्य आशिष जोशीको अवस्था अहिले सम्म अज्ञात रहेको छ ।

झडपमा अखिल क्रान्तिकारीका अन्य आधा दर्जन बिद्यार्थीहरु पनि घाईते भएका छन् । सोही क्रममा प्रहरी जवान अर्जुन सुवेदी पनि घाईते भएका छन् ।

घाईते बिद्यार्थी नेता रामकुमार खड्काका अनुसार एमाले निकट अखिल र युथ फोर्सका कार्यकर्ताले चारैतिरवाट घेरा हाली रड, डण्डी लगायतका घरेलु हतियार प्रयोग गरी आक्रमण गरेका थिए । अखिल क्रान्तिकारीले एमाले जिल्ला नेतृत्वको निर्देशनमा योजनावद्ध ढंगले आक्रमण गरेको बताएको छ ।

दोहोरो झडपका क्रममा एमाले कार्यकर्ताहरुले घटनास्थलमा घाईतेको उद्धार गर्न पुगेका माओवादी सभासद् देवी खड्का र हेमवहादुर श्रेष्ठमाथि पनि ढुंगा प्रहार गरेका थिए । यता एमालेले भने माओवादी कार्यकर्ता र नेताद्धारा आफ्नो पार्टीका जिल्ला सचिव शिवप्रसाद भण्डारी माथि आक्रमण भएको दावी गर्दै जवरजस्ती सदरमुकाम चरिकोटका पसल तथा बजार बन्द गराएको छ ।

बजार बन्द गराउन एमाले जिल्ला सचिव शिवप्रसाद भण्डारी लगायतका नेता तथा कार्यकर्ताहरुले नारावाजी गर्दै बजार परिक्रमा गरेका थिए । सो प्रदर्शनमा नेपाली कांग्रेस र उसको भातृ संगठन नेपाल बिद्यार्थी संघका नेता तथा कार्यकताहरु पनि सहभागि थिए । यद्यपी नेपाल बिद्यार्थी संघ दोलखाका अध्यक्ष राकेश श्रेष्ठले घटनामा आफ्नो संगठनको संलग्नता नरहेको स्पस्ट पार्नु भएको छ ।

समय अवधि गुजि्रएको क्याम्पस संचालक समितिले क्याम्पस संचालन दोस्रो बिनियम संशोधन गरी विवादास्पद निती बनाएको, वहालवाला क्याम्पस प्रमुखलाई उमेरको हदवन्दी लगाई अवकास दिएको, संचालक समितिको अध्यक्षका लागि आफूखुशी एक पक्षिय ढंगले नाम शिफारिस गरेको भन्दै अखिल क्रान्तिकारीले बिगत एक महिनादेखि चरणवद्ध आन्दोलन गर्दै आएको थियो ।

यसैवीच नेकपा माओवादी दोलखाका ईन्चार्ज बिस्वले आज एक बिज्ञप्ति प्रकाशित गरी क्याम्पस हातामा युथ फोर्सका कार्यकर्ताद्धारा क्रान्तिकारी बिद्यार्थी माथि गरेको आक्रमणको भत्सर्ना गर्नु भएको छ । माओवादीले निहित स्वार्थ पूर्तिका लागि गरिएको आक्रमण र कुटपिटले क्याम्पसको भबिष्यलाई समेत अन्यौलमा पार्ने उल्लेख गर्दै प्रतिरोधमा उत्रिने चेतावनी पनि दिएको छ ।

पत्रकार कुटपिटको सर्वत्र निन्दा र भत्र्सना

यसैवीच एमाले निकट युथ फोर्सका कार्यकर्ताले सदरमुकाम चरिकोटको व्यस्त सातदोवाटो चोकमा समाचार संकलनमा खटिएका सहदेव थापा माथि कुटपिट गर्नुका साथै उहाँको मूभि क्यामेरामा समेत क्षति पुर्‍याएका छन् ।

क्याम्पसमा झडपपछि एमाले जिल्ला सचिव शिवप्रसाद भण्डारीको नेतृत्वमा नारावाजी गर्दै जवरजस्ती बजार बन्द र टायर बालेर सडक अवरुद्ध पारिरहेको दृश्य खिचिरहेका पत्रकार थापालाई एमालेको युथ फोर्सले धम्क्याउदै आक्रमण गरेको हो । युथ फोर्सका जिल्ला संयोजक हिरा थोकर, अध्यक्ष पुष्प कायस्थ, अमृत राउत लगायतले आफूमाथि आक्रमण गरेको पिडीत पत्रकार थापाले बताएका छन् । डिभिजन सडक कार्यालय दोलखामा कार्यरत सुपरभाईजर माधव कायस्थले पनि पत्रकार थापा माथि हातापात गरेका थिए । कायस्थ सरकारी कर्मचारी भएर कार्यालय समयमा सडकमा राजनीतिक दलको प्रदर्शनमा सहभागि भएका हुन् ।


पत्रकार माथि आक्रमणको बिभिन्न संघ/संस्थाले भत्सर्ना गरेका छन् । नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष राजेन्द्र मानन्धरले बिज्ञप्ति जारी गरी राजनीतिक दलका नेता तथा कार्यकर्ताद्धारा पत्रकारमाथि हातापात गरिनु निन्दनीय भएको भन्दै दोषि उपर कारवाही र क्षतिपूर्तिको माग गरेको छ । क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष लक्ष्मण खड्काले पनि बिज्ञिप्ति जारी गरी गुण्डागर्दी शैलीमा पत्रकार थापा माथि आक्रमण गर्नेमाथि तत्काल कारवाहीको माग गर्दै पत्रकारमाथि आक्रमण जारी रहे कडा संघर्षमा उत्रिने चेतावनी दिनु भएको छ ।

सो घटनाको हाम्रो रेडियोका स्टेसन मेनेजर बलराम खड्का, दोलखा मिडिया क्लवका अध्यक्ष रमेस खतिवडा, कालिन्चोक सामूदायीक एफएमका अध्यक्ष दिपक बस्नेत र नेपाल मानव संगठन दोलखाका अध्यक्ष दिपसंकर चौंलागाईले छुट्टाछुट्टै बिज्ञप्ति जारी गरी निन्दा र भत्सर्ना गरेका छन् ।

यसैगरी जनहित नागरिक समाज दोलखा, मानव अधिकार संरक्षण मञ्च, काउराष्ट नेपाल, महिला आधारशिला र मानव अधिकार तथा शान्ति समाजले पनि छुट्टाछुट्टै बिज्ञप्ति जारी गरी भत्सर्ना गरेका छन् । जारी बिज्ञप्तिमा राज्यको चौथो अङ्ग पत्रकारीता क्षेत्र माथि आक्रमण गर्ने गलत कार्य तत्काल रोक्न र दोषि उपर कारवाहीको माग गरिएको छ । यता युथ फोर्स दोलखाका ईन्चार्ज हिरा थोकरले बिज्ञप्ति मार्फत पत्रकारहरुले युथ फोर्सका बारेमा गलत समाचार सम्प्रेषण गरेको आरोप लगाएका छन् । थोकरले पत्रकार थापा माथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै पत्रकारहरु प्रति सकारात्मक र सहयोगिको रुपमा प्रस्तुत हुने दावी गरेका छन् ।

यसैगरी नेकपा एमालेका सचिव शिवप्रसाद भण्डारी र नेपाली कांग्रेसका जिल्ला सभापति देवी न्यौपानेले संयुक्त बिज्ञप्ति जारी गरी माओवादीका सभासदहरु र जिल्ला स्तरीय नेताले बिद्यार्थी माथि गुण्डागर्दी गरेको र एमाले सचिव भण्डारीलाई माओवादीका जिम्मेवार नेताले हातपात गरेको आरोप लगाएका छन् । बिज्ञप्तिमा माओवादीले शैक्षिक संस्था माथि हस्तक्षेप गरेको आरोप लगाउदै त्यस्ता घटना नदोहोर्‍याउन माओवादीलाई चेतावनी दिएका छन् ।

एमाले कांग्रेसद्धारा जारी बिज्ञप्तिमा पत्रकार जगत प्रति सम्मान जनक व्यवहार गर्दै आएको उल्लेख गरिए पनि आफ्नै अगाडि पार्टी कार्यकर्ताद्धारा कुटपिट गरिएका पत्रकार सहदेव थापाको बिषयमा केही उल्लेख गरेका छैनन् ।


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...