मध्यपुर थिमी, १२ भदौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा आज सयौँ विद्यार्थीको समूहले तालाबन्दी गरी धर्ना दिँदा सो क्षेत्र दिनभर तनावग्रस्त बन्यो ।
सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी मुलुकभर सञ्चालित चारवटा कलेजमा तीनवर्षो डेन्टल साइन्स (हाइजिन) अध्ययनरत विद्यार्थीहरूको साझा सङ्गठन नेपाल डेन्टल साइन्स एसोसिएसनको नेतृत्वमा आएका विद्यार्थीहरूले आज मध्याहृन सिटिइभिटीको उपाध्यक्ष, सदस्यसचिव, स्तरनिर्धारण महाशाखा प्रमुख र पाठयक्रम महाशाखा प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
विद्यार्थीहरूले मन्त्रिपरिषद् तथा शिक्षा मन्त्रालयको निर्णयकार्यान्वयन हुनुपर्ने, सङ्काय बोर्डको व्यवस्था गर्नुपर्ने, डेन्टल हाइजिन हटाएर डेन्टल साइन्स कायम गर्नुपर्ने, ब्याचलर अफ डेन्टल साइन्स अध्ययन गर्न पाउनुपर्ने, दाँत झिक्ने तथा भर्ने कार्य गर्न एवम् औषधिको सिफारिसको स्वीकृत पाउनुपर्ने, सरकारद्वारा दरबन्दी निर्धारण गर्न पाउनुपर्नेलगायतका माग राखी तालाबन्दी गरेको एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले बताउनुभयो ।
