४ मंसिर, काठमाण्डौ/ सरकारले समाज कल्याण परिषद बिघटन गर्ने निर्णय गरेको छ । सुचना तथा संचार मन्त्री कृष्णवहादुर महराले परिषदमा ब्यापक अनियमितता भएको र चर्को समस्या तथा अन्र्तविरोध रहेकाले बिघटनको निर्णय गरेको जानकारी दिनुभयो । उहाँले पटक पटक संझाउदा पनि सुधार नभएकोले परिषद बिघटन गरिएको जानकारी दिदै त्यसलाई पुर्नगठन नभई पछि नयाँ बनाईने बताउनुभयो । आज वसेको मन्त्रि परिषद बैठकले सामान्य प्रशासन मन्त्री पम्फा भुसालको अध्यक्षतामा प्रशासन पुर्नसंरचना आयोग गठन गर्ने निर्णय समेत गरेको छ ।
नौ सदस्यीय आयोगमा जनप्रशासन बिज्ञको रुपमा डा.महेन्द्रनारायण मिश्र, पूर्व सचिव अच्युतराज राजभण्डारी, पूर्व लोकसेवा आयोग सदस्य विजय केसी, वालकृष्ण प्रसाइ, पूर्व एआइजी राजेन्द्रबहादुर सिंह, सुशासन बिज्ञ मुक्ति रिजाल, कानून बिद सिताराम मण्डल र शिक्षा बिद डम्वरबहादुर बिक रहनुभएको छ । अन्य बिज्ञलाई आमन्त्रित सदस्यको रुपमा राखेर छलफल गर्न सकिने बताईएको छ । आयोगले प्रशासन पुर्नसंरचनाको खाका तयार पार्नेछ । बैठकले वेपत्ता सम्बन्धि कानूनलाई ब्यवस्थापिका संविधान सभामा पेश गर्ने निर्णय गर्दै त्यस सम्बन्धि कानून पास गरेको छ । सर्वोच्च अदालतको निर्देशन अनुसार आयोग गठन गर्न कानून आवश्यक रहेकाले मन्त्रि परिषद बैठकले त्यस सम्बन्धि कानून तयार पारेको महराले जानकारी दिनुभयो । त्यसैगरी सरकारले केही राजनैतिक नियुक्तिहरु समेत गरेको छ ।
दुर संचार प्राधिकरणको अध्यक्षमा भेषराज कँडेल, उदयपुर सीमेन्ट कारखानाका महाप्रवन्धकमा उद्धववहादुर कार्की र निजामति कर्मचारी अस्पताल संचालक समितिको सदस्यमा बिद्यानाथ नेपाल र डा.भगवान कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी जनक शिक्षा सामाग्री केन्द्रको प्रवन्ध संचालकमा वीरेन्द्रकुमार यादवलाई चयन गरिएको छ ।