काठमाडाँै, १४ मङ्सिर । नेपाल भ्रमणमा रहनुभएका डेनमार्कका विदेश मामिलासम्बन्धी मन्त्री पर स्टिग मोलरले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया र विकासका क्षेत्रमा छिमेकी मित्रराष्ट्रहरू भारत र चीनको अत्यन्त सकारात्मक र सहयोगी भूमिका रहेको बताउनुभएको थियो ।
प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार हिराबहादुर थापाका अनुसार भेटवार्ताका क्रममा मोलरले डेनमार्कले नेपालमा शान्ति र स्थायित्व चाहेको तथा नेपालको शान्ति प्रक्रियाको तार्किक निष्कर्षा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
मन्त्री मोलरले डेनमार्कले नेपालको सामाजिक र आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सल्लाहकार थापाले जानकारी दिनुभयो ।