दमौली, १४ मङ्सिर । लामो खडेरीका कारण तनहुँ जिल्लाका विभिन्न ठाउँमा लगाइएका हिउँदेबाली डढेर सखाप भएको छ ।
बाली लगाएदेखि पाक्ने बेलासम्म नै पानी नपरेका कारण जिल्लाका सागे, कुमालटारी, पतेनी, कटहरे, भादगाउँ, पाटन, कर्लस्तीलगायतका ठाउँमा लगाइएका कोदो, तोरी, मकै, गहत, मस्याङ, बोडी, भटमासलगायतका अन्नबाली सुकेर नष्ट भएको किसानहरूले बताएका छन् ।
जिल्लाका अधिकांश भागमा सिँचाइ सुविधा नहुँदा किसानहरू आकासे पानीको भरमा खेती गर्न बाध्य छन् । लामो खडेरीले हिउँदे अन्नबालीमा असर पुर्याएको जिल्ला कृषि विकास कार्यालय, तनहुँले पनि जनाएको छ ।