१५ मङ्सिर,भद्रपुर/ पूर्व-पश्चिम राजमार्गको झापाखण्डको चारआलीमा एक यात्रुवाहक बसबाट सशस्त्र प्रहरीका सीमा सुरक्षा बल, चन्द्रगढीको गस्ती टोलीले शनिबार लाखौँ मूल्यका कपडा र विभिन्न ब्रान्डका नक्कली रक्सीको बोतल बरामद गरेको छ । बरामद गरिएका सामानहरूमध्ये रु.तीन लाखका साडी, धोतीलगायतका कपडा भन्सार कार्यालयमा बुझाइएको र ६४० थान नक्कली रक्सीका बोतल सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार हमालको रोहबरमा नष्ट गरिएको सीमा सुरक्षा बल, चन्द्रगढीका प्रहरी उपरीक्षक दिलीप बस्नेतले जानकारी दिनुभयो । बरामद गरिएका बोतलहरूमा नेपालमा निर्मित ब्ल्याक ज्याक, भर्जिन, रोयल स्टेग, ब्ल्याक लेबल, गिलमेरी र ब्लु डायमन्ड ब्राण्डका रक्सीका नक्कली बोतल रहेको थाहाभएको छ ।
प्रत्येक बोतलमा नम्बरसहितको आन्तरिक राजस्व कार्यालयको स्टिकरसमेत टाँसिएको छ । रक्सीको बोतलमा छापिएको कम्पनी र रक्सीको नामको कागजको स्तर र पि्रन्ट वास्तविक रक्सीको बोतलसँग मेल खाने किसिमको नदेखिएकाले नक्कली रक्सी रहेको प्रमाणित भएपछि नष्ट गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । त्यस किसिमका नक्कली रक्सी झापामै निर्माण हुने गरेको र रक्सीको नाम, लोगोसहितको कागज भारतबाट छपाइ बोतलमा टाँसेर बेच्ने गरेको जानकारी प्राप्त भएको पनि उहाँले जानकारी दिनुभयो । नक्कली रक्सीको बोतलमा टाँसिएको आन्तरिक राजस्व कार्यालयको स्टिकर असली हो कि नक्कली भन्ने विषयमा छानबिन भइरहेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालले बताउनुभयो । सो सामानको जिम्मा कसैले नलिएकाले पक्राउ भने कोही नपरेको बताइएको छ ।

