१५ मङ्सिर,काठमाडौं/ अर्थमन्त्री डा.बाबुराम भट्टराईले विभिन्न दल सम्लग्न गठबन्धन सरकारमा काम गर्न अप्ठ्यारो भएको बताउनुभएको छ। सरकारको नेतृत्व गरिरहेको माओवादी नेतासमेत रहनु भएका डा.भट्टराईले मुलुकको प्रशासनतन्त्र पुरानै रहेको र सरकारमा विभिन्न विचारधाराका पार्टी सहभागी भएकाले काम गर्न अप्ठ्यारो रहेको बताउनुभयो । सरकारी न्याय नीति तथा कार्यक्रम सकारात्मक रहे पनि कार्यन्वयनमा कठिनाइ रहेको उहाँले बताउनुभयो । सरकारको सय दिन सन्तोषजनक रहेको दावी गर्नु हुँदै अर्थमन्त्री डा.भट्टराईले भन्नुभयो , छोटो अवधिमा धेरै राम्रो काम गर्न सकिएन तर कलंक लाग्ने खाले अपराध पनि गरिएन ।
माओवादी नेतृत्वको सरकारको मूल्याङ्कन सय दिनलाई हेरेर नगर्न आग्रह गर्दै उहाँले युग परिवर्तन गर्न केही समय लाग्ने उल्लेख गर्नुभयो । संयुक्त राष्ट्र संघको आयोजनामा शनिबारदेखि सुरु भएको विकासका लागि लगानी विषयक अन्तरक्रियामा सहभागी हुन कतारको राजधानी दोहा पुग्नु भएका डा.भट्टराईले जनताको अपेक्षाअनुरुपको परिवर्तन रातारात हुन नसक्ने भएकाले आफ्नो पार्टीले चालीस वर्षिय गुरुयोजना अधि सारेको बताउनुभयो । माओवादीभित्रको मतभिन्नतालाई जिवन्त पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको संज्ञा दिदै भट्टराईले पार्टीभित्र विभिन्न विषयमा बहस हुनु स्वभाविक भएको बताउनुभयो ।
वाइसीएलका अराजक क्रियाकलापबाट शान्ति सुरक्षामा बाधा पुगेको भन्नेतर्फ ध्यानाकर्षण गराउँदा अर्थमन्त्री डा.भट्टराईले वाइसीएलले मान्छे मार्दा सबैतिर बवाल हुने तर वाइसीएलका कार्यकर्ता मारिदा कसैले केही नबोल्ने गरेको गुनासो गर्नुभयो । शान्ति प्रक्रियायता अन्य दलका भन्दा माओवादी कार्यकर्ताको बढी हत्या भएको मन्त्री भट्टराईले बताउनुभयो ।