१२ भदौ,टोरोन्टो/ आफ्ना विगतका दिनहरु सम्झदै नेकपा माओवादीकी प्रखर नेत्री तथा सभासद हिसिला यमीले टोरोन्टोको खुलामञ्चमा नेपाली मेलामा उपस्थित गैरआवासीय नेपालीहरु माँझ आनी छोयाङसँगै गीत गाएर आफुले राजनीतिसँगै संगीत पनि सिकेको प्रमाणित गर्नु भएको थियो ।गैरआवासीय नेपाली संघ क्यानाडाको प्रथम सम्मेलनमा नेपालबाट आउनु भएको भूतपूर्व आवास तथा भौतिक योजना मन्त्री हिसिला यमीले नेपालीहरु जहाँ रहेपनि नेपाली कला संस्कृतिलाई विर्सन सक्दैनन् भन्ने उदाहरण यो मेलाबाट प्रमाणित हुन्छ भन्नु भयो । मेलाको अर्को आकर्षण हुनु हुन्थ्यो आनी छोयाङ डोल्मा । शान्तिका गीत गाएर मानवलाई प्रेरणा दिने आनीका गीतहरुले मेला स्थललाईनै शान्तयम र रमणीय बनाइदिएको थियो । आनीका गीत फुलको आँखामा फुलै संसारमा समेत आनीलाई साथदिन हिसिला यमी मञ्चमा पुग्दा दर्शकको तालीले जनयुद्धका नेत्रीलाई स्वागत गर्दा जनताको चाहना शान्ति रहेकोले आनी जस्तै शान्ति छर्न अनुरोध गरेको आभास भएको थियो । उहाँले पनि आफ्नो सरकारको काम शान्ति स्थायित्वमा बढी केन्द्रित हुने बताउनु भयो भने नेपाल गरीब भए नेपाली पनि गरीब हुन्छन् त्यसैले नेपालीहरुको जीवनस्तर उठाउन नेपालीनै चाहिन्छ भन्दै आर्थिक र भौतिक सहयोगका लागि अनुरोध गर्नु भयो ।
नेपाली मेला हिमालायन फेस्टिभलको थालनी २००६ को अगस्तदेखि भएको थियो । नेपलिज क्यानडियन कम्युनिटी सर्भिसेस अर्थात एनसीसीएसको पहलबाट शुरु भएको नेपालीहरुको यस उत्सवले एकातिर मेला शब्दले नेपालीपनलाई समाति रहेको छ भने अर्कोतिर हिमालयन फेस्टिभल शब्दले हिमालयको देश नेपाल रहेको वास्तविकता झल्काई रहेको छ । क्यानडामा विश्वका प्राय सबै राष्ट्रबाट आएका विभिन्न समुदायका विभिन्न संस्कृति बोकेका मानिसहरुको बाहुल्यता छ । बहुसाँस्कृतिक शहर टोरोन्टोमा प्रत्येक वर्ष मार्चको आगमन सँगसँगै खुला आकाश उत्सव शुरु हुन्छ । प्रत्येक शनिबार र आईतबार कुनै न कुनै देशको उत्सव शहरका विभिन्न क्षेत्र अझ सडकमा समेत चलि रहेको हुन्छ । टोरोन्टोको मुटुमा अवस्थित नेथन फिलिप स्क्वायरमा यहाँको सिटी काउन्सिलको सहयोगमा विभिन्न राष्ट्रको उत्सव चल्ने गर्छ । नेपालले पनि २००६ देखि सिटी काउन्सिलको सहयोगमा आफ्नो प्रतिनिधित्व गर्दै आईरहेको छ । प्रत्येक वर्ष अगस्त महिनाको अन्तिम आईतबार मनाइने नेपाली मेला हिमालयन फेस्टिभल अब यहाँको सिटी काउन्सिलको वाषिर्क क्यालेण्डरमा दर्ता भई सकेको छ । एनसीसीएसबाट जग हाल्ने काम भए तापनि अब यो उत्सव यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीहरुका लागि एउटा वाषिर्क चाड बनि सकेको छ । त्यसैले यस पटक नव स्थापित एनआरएन क्यनाडाले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन गर्ने निधो गरेपछि नेपाली मेला हिमालयन फेस्टिभललाई पनि कार्यक्रम भित्र राखेर यसका अझ ब्यापकता ल्याउने निर्णय गर्यो ।
प्रत्येक नेपालीले यसमा आफ्नो सहयोगको बाँचा गर्न थाले । यहाँको जनजाति संघ, नेवा गुठी आदि सबैको सहभागिता मेलामा गासिन पुग्यो । यो मेला अब यहाँका नेपालीहरुको अस्तित्वनै बन्न गएको छ । हाम्रो दशै तिहार र अन्य चाडपर्व भने जस्तै अब हामी सबैले प्रत्येक वर्ष अगस्तको अन्तिम आईतबार नेपाली मेलाको लागि छुट्याएर राख्नु पर्छ । यसमा अझ ब्यापकता र रहभागिताका लागि आ-आफ्नो क्षेत्रबाट लागिपर्ने बेला आएको छ । नेपालीहरुको मात्र बढी सहभागिता रहने यस मेलामा अरुजातिकाहरुको सहभागिता बढाउने कार्यक्रमहरु ल्याएर यसलाई एउटा उदाहरणीय बनाउनु पर्ने जिम्मा हामी सबैको हो ।
गत वर्षको तुलनामा यस वर्ष नेपाली मेला हेर्न आउनेहरुको घुईचोनै लागेको थियो । हजारौंको संख्यामा उपस्थित दर्शकहरुलाई नेपाली कलाकारहरुले मनग्य मनोरञ्जन पस्कदै गएकोले दिउसो दुईबजेदेखि राती आठबजेसम्म मानिसहरुको भीड लगातार बढ्दै गई रहेको थियो । क्यानाडाका बयोवृद्ध गैरआवासीय नेपालीहरुबाट उद्घाटन गरि नेपाली र क्यानाडाको राष्ट्रिय गीतबाट प्रस्तुति प्रारम्भ गरिएको मेलामा मञ्जुश्री नृत्य, कुमारी र पञ्चकन्या प्रदर्शनपछि बालबालिकाहरुबाट नेपालको विभिन्न जातिहरुको प्रतिनिधित्व गर्ने भेषभूषा प्रदर्शन गरिएको थियो । त्यसपछि क्लासिकल नृत्यबाट शुरु भएको सांस्कृतिक प्रस्तुतिहरुमा १० वटा सामुहिक र तीनवटा एकल नृत्य, लोकगीतहरु, आधुनिक र पप, र्याप आदि गीतहरुसंगै बाँसुरी र माउथर्गनका सांगीतिक धुनहरु प्रस्तुत गरिएको थियो । मेलामा सहभागि बालकलाकारहरुमा कीर्तिका खरेल, दुबिका अधिकारी, सोनाली कार्की, रिद्दीसा गिरी, अनुष्का, स्वाति, एरिसा, एल्बीसा धमला आदिसँगै यहाँका स्थानीय कलाकारहरु नृत्यका श्वेच्छा पोखरेल, कृपा ज्ञवाली, ज्योतिका पौड्याल, स्वेता पन्त, मोनिका पन्त, आर्य उपमध्याय, उषा प्रसाद, एल्बिसा श्रेष्ठ, साबातिना श्रेष्ठ, अयुषा प्रधान, सानाकृति, श्रेणी खतिवडा, रक्षा महत, ईच्छा, कुसुम बस्नेत, वर्ष वर्मा, सुजाता पोखरेल, अञ्जना, उमी श्रेष्ठ, मिलान, सुमिता पाण्डे, सुरक्षा पोखरेल, परीक्षा पोखरेल, सबीना राई, पासाङ्ग शेर्पा, नलीना गुरुङ्ग, नेन्सी शेर्पा, नीलीमा शेर्पा, श्रेणी खतिवडा, पि्रयङ्का राई र बाल प्रतीभामा रिचर्ड तिमिल्सिना, स्वर्णीमा गुरुङ्ग र रिद्दीसाका मनमोहक एवम् आकर्षक नृत्यहरुले उपस्थित दर्शकहरुलाई नै नचाँई रहेको थियो ।
गीत तर्फ सन्देशको लोकगीतबाट शुरु भएर समिर गिरी, बुद्धिसागर बस्याल हुँदै रुक्सान महत, पासाङ्ग गुरुङ्ग, क्षितेन शेर्पा, दीप, एजे, सास्वत हुँदै डाँफे ब्याण्डका सतिस राई, केवल खतिवडा, राज रोक्का, समिर गुरुङ्ग मण्डला समुहका सन्नी, जिमी, जनमनजय, प्रबुद्ध आदिले मेलालाई झन झन आकषिर्त र मनोरञ्जनात्मक बनाउदै गएको थियो । सबैको अथक परिश्रम र सशक्त प्रस्तुतिले मेलालाई स्मरणीय बनाई दियो ।
गोबिन्दसिंह रावतको संयोजकत्वका आयोजित यस पटकको मेलाको अभूर्तपूर्व सफलताले अगामी वर्षमा यसमा अझ ब्यापकता र सहभागिता बढाउदै जानु पर्ने अनुमान आयोजक समुहले गरको छ । एकातिर मादल र बाँसुरीको तालमा मेला भर्न आएका एकहुल मानिसहरु रमाई रहेका थिए भने अर्कोतिर हातमा मेहन्दी लगाउनेहरुको ताति देखिन्थ्यो । कतै केटाकेटीहरु अनुहारमा रङ्ग पोतेर एउटा बेग्लै मुहारको आभास दिन खोजि रहेका छन् भने कतै नेपाली खानाका परिकारमा मानिसहरुको हुल मडारी रहेका छन् त कतै नेपाली हस्तकलाका आकर्षक सामानहरुमा झुम्मि रहेका छन् । अनि विदेशीसंगै नेपालीहरु पनि नेपालका पर्यटकीय स्थलबारे जानकारी लिदै गरेको पनि देखियो भने नेपालका मनमोहक द्दश्यहरुको प्रदर्शनी हेर्ने र जिज्ञासा राखेर बुझ्नेहरुको पनि तातिनै देखिन्थ्यो । कार्यक्रम संचालकहरुलाई मेला वरिपरि राखिएका पसलहरुबाट आएका मम र सेलरोटीका बास्नाले उद्घोषक बारम्बार दर्शकलाई पनि लोभ्याउने गरी सम्झाई रहेको थियो । त्यसैले एकैछिनलाई भए पनि कार्यक्रम रोकौं र कपाकप खाउँ भनेर आधा घण्टाको ब्रेक दिनै पर्यो । मञ्चमा आफ्ना कलात्मक प्रस्तुतिहरुबाट उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन दिने स्थानीय कलाकारहरुका बेजोड प्रस्तुतिहरुको जति तारिफ गरे पनि कमै हुन्छ । सांस्कृतिक कार्यक्रमले मेलालाई सजाउने काम गर्ने गर्छ । त्यसैले कलाकारलाई समाजको गहना पनि भनिन्छ । मेलाको दिन मेला स्थलनै नेपालीमय बनेको थियो ।
