सिङ्गापुर, १२ भदौ । दक्षिण पुर्वी एशियाली राष्ट्रहरुको संगठन -आसियान अष्ट्रेलिया र न्यूजिल्याण्डसँगको कर मुक्त ब्यापार सम्झौतामा पुगेको छ । बिहीबार आसियानका मन्त्रीहरुव्दारा प्रकाशित एक संयुक्त विज्ञप्तिमा ती मुलुकहरुसँग तीन वर्षलामो छलफल र वार्तापछि आसियान ती राष्ट्रहरुसंग सम्झौता गर्ने निचोडमा पुगेको उल्लेख गरिएको छ । कर मुक्त ब्यापार सम्झौता -एफटिएका लागि आसियान तथा अष्ट्रेलिया र न्यूजिल्याण्डबीच वार्तापछि निस्केको निचोडलाई आसियानका मन्त्रीहरुले स्वागत गरेका छन् ।- त्यस विज्ञप्तिमा भनिएको छ ।
सिङ्गापुरमा जारी आसियान मन्त्रीहरुको ४० औं बैठकमा बिहीबार त्यस संगठनका वित्तमन्त्रीहरुले अष्ट्रेलिया र न्यूजिल्याण्डका वित्त मन्त्रीहरुसँग भेटवार्ता गरेका थिए । त्यस विस्तृत सम्झौतामा विशेषज्ञहरुको आदान प्रदान ,बस्तुको व्यापार, लगानी, वित्त, दूरसंचार, विद्युतीय व्यापार, बौद्धिक सम्पत्ति, प्रतिस्पर्धा नीति तथा आर्थिक सहयोग आदी समावेश छन् । आगामी डिसेम्बरमा त्यस सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।
