पोखरा, ५ भदौ/ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाकेन्द्र पृथ्वीचोक पोखरा र काठमाडौस्थित क्यास्पियन कलेजका एमबीए २००६ ब्याचका विद्यार्थीहरुद्धारा यही भाद्र १४ गते पोखरामा गाइजात्रा महोत्सव हुने भएको छ । तीरे-जीरे साथमा मेरी बास्सै गाइजात्रा महोत्सव २००५ नाम दिइएको सो कार्यक्रममा नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको तीतो सत्य, जीरेखर्सानी र मेरी बास्सैका कलाकारहरुको उपस्थिति रहनेछ । साथै, हाँस्यकलाकार मनोज गजुरेल, नायिका रेजिना उप्रेती, राजेश केसी लगायतका कलाकारहरुले पनि आ आफ्नो प्रस्तुती देखाउने पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पोखरा सभागृहमा मध्यान्ह १२ बजे हुने सो कार्यक्रममा २ शो हुनेछन् ।
शिखर सुजले सहआयोजना गरेको सो महोत्सवबाट बचत हुने रकम सामुदायिक सेवा केन्द्रमा आवश्यक भौतिक सामग्री जोड्नमा खर्च गरिने केन्द्रका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो । पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक भोजराज ओझा, आयोजक मध्येका विश्वप्रकाश कोइराला, लेखनाथ सामुदायिक सेवाकेन्द्रका अध्यक्ष शेरबहादुर गुरुङ, माटेपानी सामुदायिक सेवाकेन्द्रका रामकृष्ण बाँस्तोला, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सल्लाहकार सुरेन्द्र श्रेष्ठ, केन्द्रका कोषाध्यक्ष एकबहादुर कार्की, पत्रकार प्रेमनारायण न्यौपाने, माधव बराल लगायतले बोल्नुभएको थियो ।
