कास्की, १२ भदौ । अविरल परेको वर्षाका कारण कास्कीको कालिका गाविस वडा नं. ६ चितेपानीका दुइ घर पहिरोले बगाएको छ । अन्य पाँच घर पहिरोको जोखिममा परेका छन् ।
पहिरोबाट कुनै मानवीय क्षति भने भएको छैन । घरमाथिबाट आएको पहिरोले गङ्गाधर अधिकारीको घर बगाएको छ । पहिरो आउन लागेको शङ्का लागेपछि घरमा बसेका गङ्गाधरका दम्पती बाहिर निस्केका थिए । उनको गोठ भत्कँदा पुरिएका भैँसी र बाख्रा बिहान निकालिएको स्थानीयवासी रामकृष्ण पौडेलले बताए ।
वर्षको कारण कृष्णप्रसाद सापकोटाको घर भत्किएको छ । सोही स्थानका बाबुराम सापकोटाको राइसमिलसमेत पहिरोको जोखिममा परेको छ भने गननाथ अधिकारीको घरको आँगन चिरिएको छ । पहिराका कारण कसेरी भैँसे सडकखण्ड मोटरबाटो अवरुद्ध भएको छ ।
पहिरोको कारण सोही गाविसको वडा नं.१ गाइने डाँडाका बेलबहादुर विकको घर भत्किएको छ । घर भत्किएपछि उनको चारजनाको परिवार विस्थापित भएको छ । यसैगरी कास्कीकै आर्वा विजय गाविसको कसेरीस्थित भवनसिंह विकको घर भत्किएपछि उनको परिवार छिमेकीको घरमा शरण लिन पुगेको छ ।
